विद्यार्थीबारे म्यासेजको व्यवस्था, अभिभावकलाई पनि ढुक्क
काठमाडाैं | भदौ २७, २०७९
काठमाडौं । चितवनको एक सामुदायिक विद्यालयले मोबाइल म्यासेजमार्फत विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानाकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो ।
यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुलमा विद्यार्थीको सङ्ख्या धेरै भएका कारण व्यवस्थापनमा सहजता ल्याउन मोबाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी घरबाट हिँडेर कहिलेकाहीँ स्कुल नपुग्ने र स्कुलबाट छुटेपछि पनि समयमा घर नजाने गुनासो आउने गरेपछि यो प्रविधिको सुरुआत गरेका हौँ ।” उहाँले विद्यालयले विद्यार्थीबारे म्यासेजको व्यवस्था गरेपछि अभिभावकलाई पनि ढुक्क हुने बताउनुभयो ।
“कहिलेकाहीँ ५ बजेसम्म पनि अध्ययन हुनसक्छ, म्यासेज नआएसम्म आफ्ना छोराछोरी स्कुलमा सुरक्षित छन् भनेर अभिभावक ढुक्क हुनुहुन्छ”, प्रचार्य दवाडीले भन्नुभयो । यो प्रविधिमार्फत विद्यार्थीको वैज्ञानिक व्यवस्थापनको अभ्यास थालिएको उहाँको भनाइ छ । यो प्रविधि जडानका लागि विद्यालयले भरतपुरको प्राचीन मेटल आर्टस् एण्ड फ्लेक्ससँग सम्झौता गरेको छ । प्राचीन मेटलका सञ्चालक गोपालभक्त अधिकारीले विद्यार्थीको आइडी कार्डमा चिप जडान गरिएको र विद्यार्थी विद्यालय प्रवेश गर्ने र बाहिरिने बित्तिकै अटोमेटिक रिड गरेर अभिभावकलाई म्यासेज पठाउने बताउनुभयो । अभिभावकलाई म्यासेज पठाउने प्रविधि केही निजी स्कूल कलेजमा यसअघिनै जडान गरे पनि सामुदायिक विद्यालयमा नारायणी नमूना मावि जिल्लामा नै पहिलो भएको उहाँले बताउनुभयो ।
विद्यालयसँग एक वर्षको सम्झौता गरेर काम गरिएको अधिकारीले जानकारी दिनुभयो । विद्यालयको बसमा समेत जिपिएस जडान गरिएको छ । जसको माध्यमबाट अभिभावक तथा शिक्षकले मोबाइल एपको माध्यमबाट स्कुल बसलाई ट्रयाक गर्न सक्नेछन् ।
विद्यालयमा तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । अभिभावकले विद्यालय पुर्याउने र लैजानेबाहेकका अन्य विद्यार्थीलाई म्यासेज पठाउने व्यवस्था गरिएको छ । करिब तीन हजार विद्यार्थीलाई एकैपटक म्यासेज जाने प्राचार्य दवाडीले बताउनुभयो ।
विद्यालयले सूचना र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ । सबै कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ भने सिसीटिभी जडान समेत गरिएको दवाडीेले जानकारी दिनुभयो । विद्यालयले पढाउने विधिलाई पनि प्रविधिमैत्री बनाएको उहाँले जानकारी दिनुभयो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

